मुख्य पृष्ठ

Friday, March 1, 2013

जानी राखौ !मुटु रोग भनेको के हो ?र कसरी समाधान गर्ने ?

 मुटु रोग भनेको के हो ?


      मुटु रोगलाई सुषुप्त हत्यारा भन्न थालिएको छ। मुटु र रक्तनलीसम्बन्धी रोग गम्भीर प्रकारका  हुन्छन्। त्यसबाट मानिसको तत्काल मृत्युसमेत हुन सक्छ। उपचार खर्चिलो र जटिल छ। तर, रोगबाट बच्ने उपाय भने अपेक्षाकृत सस्तो, सजिलो र सुलभ छन्। यस वर्षको विश्व मुटु दिवसका नारा र प्रचार सामग्री विशेष गरी महिला र केटाकेटीप्रति लक्षित छन्। मुटुरोगबाट बच्ने उपाय घरबाटै सुरु गर्नुपर्ने र घरका महिला यसमा सजग भएमा परिवारका सम्पूर्ण सदस्यलाई नै रोगबाट बचाउन सकिने हुनाले विश्व मुटु महासंघले यस्तो कार्यक्रम ल्याएको हो। महासंघको अगुवाइमा हरेक वर्ष सेप्टेम्बर २९ का दिन मुटुरोग र यसबाट बच्ने उपाय सम्बन्धमा जनचेतना जगाउन विश्व मुटु दिवस मनाइन्छ।


मुटु र रक्तनलीसम्बन्धी रोग विभिन्न प्रकारका छन्। जस्तै : कोरोनरी मुटुरोग र हृदयाघात, मुटुको बाथरोग, जन्मजात हुने 
मुटुको रोग, उच्च रक्तचाप, मस्तिष्कघात आदि। कोरोनरी मुटुरोग र हृदयाघात आजका जल्दाबल्दा समस्या हुन्। रोगको पहिचान र उपचार पद्धतिमा भएको ठूलो प्रगतिका बाबजुद अझै पनि एकतिहाइभन्दा बढी मानिसको पहिलो हृदयाघातमा नै मृत्यु हुन्छ। केही दशकअगाडिसम्म बुढ्यौली र धनी मानिसको रोग भनेर चिनिए पनि अचेल युवा उमेरका, मध्यम र निम्न आर्थिक अवस्था भएका मानिसमा समेत यो रोग देखिन थालेको छ।

           ४० वर्ष आसपासका युवामा हृदयाघातको क्रम बढेको छ। यसका प्रमुख कारणमा चुरोट र सुर्ती सेवन, बोसो र चिल्लोयुक्त खाना, मानसिक तनाव, शारीरकि परश्रिमको अभाव, मोटोपन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, सागसब्जी र फलफूलको सेवनमा आएको कमी आदि छन्। चुरोट, सुर्तीको सेवन नगर्ने वा त्याग्ने, नियमित शारीरकि व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग सम्पर्कमा रहेर परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा हृदयाघातबाट सजिलै बच्न सकिन्छ। हृदयाघात अचानक नै हुने भए पनि त्यसका लागि वर्षौं लगाएर शरीरभित्र हृदयाघातको परिस्थिति तयार हुन्छ। 


      सहरी क्षेत्रमा बच्चाहरू शारीरकि परश्रिम कम गर्छन्। टीभी वा कम्प्युटर गेममा बढी भुल्छन् र प्रशस्त चिप्स, बर्गर, पिज्जा, गुलियो पेय पदार्थ आदि जंकफुड सेवन गर्छन्। वास्तवमा बच्चामा जंकफुडको सेवन वयस्क मानिसले धुम्रपान गरेजत्तिकै हानिकारक छ। यस्तो खानेकुरा र जीवनशैलीले उनीहरू युवा अवस्थामा पुग्दानपुग्दै हृदयरोग, मधुमेह, उच्च रक्तचाप, मोटोपन, मस्तिष्कघातजस्ता विकराल रोगको सिकार बन्ने सम्भावना हुन्छ। महिलामा पनि मोटोपना, मधुमेह, धुम्रपानको सेवन, उच्च रक्तचाप, मानसिक तनावजस्ता समस्या बढ्दै गइरहेका छन्। 

       जन्मजात मुटुरोगमा बच्चा जन्मिँदाखेरि नै मुटुको बनावटमा समस्या हुन्छ। भ्रुण अवस्थामा मुटु बन्ने क्रममा खराबी आएमा यस्तो अवस्थाको सिर्जना हुन्छ। बच्चा जन्मिएपछि राम्रोसँग दूध चुस्न नसक्ने, बच्चाको तौल नबढ्ने, बारम्बार निमोनिया भइरहने, कसैकसैको ओठ, जिब्रो, नङ नीलो देखिने यस रोगका प्रमुख लक्षण हुन्। आनुवंशिक गडबडी, नजिकको नातामा विवाह, गर्भावस्थामा मध्यपान, धुम्रपान, विभिन्न रसायन र विषादीको सम्पर्कमा आउने, गर्भावस्थामा अनावश्यक औषधीको सेवन, गर्भावस्थामा मधुमेह हुनु, बढ्दो उमेर -४० वर्ष आसपासमा गर्भवती हुनु आदि यसका केही कारण हुन्। गर्भ रहेको १८ साता आसपासमै फोटेल इकोकार्डियोग्राफी जाँच गरी बच्चाको मुटुमा समस्या भएरनभएको थाहा पाउन सकिन्छ। धेरै नै जटिल अवस्थामा मुटुको समस्या रहेमा गर्भपतनलगायत उपायसमेत अपनाउन सकिन्छ। 

       मुटुको बाथ बच्चाहरूमा हुने अर्को प्रमुख मुटुरोग हो। घाँटी दुख्ने, टन्सिल बढ्ने समस्या गराउने एक प्रकारको जीवाणुले शरीरभित्र उत्पन्न गर्ने प्रक्रियाका कारण मुटुका भल्भ खराब हुन गई यो समस्या आउँछ। मुटुको भल्भ एकपटक खराब भएपछि यो जीवनभरका लागि समस्या बन्छ। मुटुको बाथरोगको समस्या हाम्रो देशको सबैभन्दा ठूलो स्वास्थ्य समस्यामध्ये एक हो। बच्चालाई घाँटी दुख्ने, टन्सिल बढ्नेबित्तिकै स्वास्थ्यकर्मीकहाँ पुर्‍याएर आवश्यक निदान र उपचार गरे बच्चालाई यसबाट सजिलै बचाउन सकिन्छ। नुनको सेवन कम गर्नु पनि खतरा टार्नु हो। बढी नुनिलो खानेकुरा पनि चिल्लो खानेकुराजस्तै हानिकारक हुन्छ। 

      आजको समय सूचना र सञ्चारको समय हो। जससँग सूचना छ, त्यो सुखी, समृद्ध र निरोगी रहन सक्छ। इन्टरनेटको विकासले जुनसुकै सूचना र ज्ञान पनि मानिसको औँलाको टुप्पोमा छ। स्वास्थ्य र रोगसम्बन्धी सम्पूर्ण जानकारी सामान्य मानिसले समेत बुभmने गरी इन्टरनेटमा राखिएको हुन्छ। यी जानकारी हेर्ने गरे हामी आफू र आपmना परिवारका सदस्यलाई रोग लाग्ननबाट बचाउन सक्छौँ। अझ महिलाहरू सचेत भएमा पूरै परिवार यसबाट लाभान्वित हुने हुनाले महिलाहरूले यस्ता कुरामा रुचि राख्नु अझ जरुरी छ। 
डा दिवाकर शर्मा 
(शर्मा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ हुन्।)

you can visit:




No comments: