लघुकथा- एक भारी
- राज अबिरल यात्री
खलंगा बजार पुग्नु अघिको अन्तिम बिसौनी चौतारीमा पिठ्यू भरी बोकेर ल्याएको भारी बिसाएर बिरसराले अाफुले बिहान भरी छिचोलेर आएको बाटो नियाली पसिना पुछेर उफ् गर्दै । पहिले पहिले घाम खलंगा बजारको अाधा भागमा नलाग्दै उ यहाँ आइ पुग्थी, आजकल पुरै बजारमा घाम लागिसकेको छ । समय उसलाई यति बज्यो थाहा छैन तर ढिलो छिटो उ घाम हेरेरै अड्कल काट्छे ।
अनि सम्झिन थालिन आज बजार बाट लैजानु पर्ने चिज के के भनेर । हिँजो बेलुका जंगल बाट आउना साथ सातमा पढ्ने छोरीले भनेकी थिई लेख्ने कापी सकिएको छ भनेर , त्यसमा उस्लाई थप बिज्ञान की के को कापी पनि भन्थी । अामाले भुल्छिन भनेर छोरीले कापीको अन्तिम पानाको सानो भाग च्यातेर लेखेकी थिई र बिरसराले पटुकीमा घुसारेकी थिई । त्यो छामी मात्र छाम्नका लागि उनले सोची सकेकी थिई साधारण कापी बाहेक त्यो अर्को कापी किन्नु पैसाले पुग्दैन भनेर, किनकी छोराले पनि दुई दुई डटपेन र कापी ल्याईदेउ भनेर भनेको थियो । बिहान रोगी बुढाले ओच्छ्यान बाटै खोक्दै भनेको थियो बिँडी खाने चुर र ताउ अनि खोकीको औषधी ल्याईदे भनेर ।
बिहान अध्यारैमा टुकीबालेर भान्सामा हेर्दा नुन तेल सबै सकिएको देखेकी थिई । हिंजो बेलुकी मात्रै उनले तरकारीमा भुटुन हाल्दा खानेतेलको बोतललाई धेरैबेर तर्याएकी थिई बोतलमा टाँसिएको तेल झरोस भनेर । त्यो पनि सुखा दाउराको रापमा कराई तातेर आधै डढेर धुवाँ भै उढेको थियो र उने हतार हतार अालु अोहिर्याएकी थिई । मरमसला बिरसराको कल्पनामा मात्र थियो, सधैको अभावले उ किन्ने सोच्थी मात्र । त्यो बाहेक उ दुई बर्षकी कमजोरी छोरीलाई एक बट्टा हर्लिक्स खुवाउने सोचेको त झन नौं महिना भै सकेको छ । तर हरेक पटक यि यस्तै मसिना सामानले गर्दा हर्लिक्स त उसको सपना झैं भएको छ । तर फेरी पनि त्यो चौतारीमा भारिमा अडेस लागेरै किन्न नसकिने हर्लिक्स पनि सम्झि ।
यि छोरा छोरी बुढा र भान्साको आवश्यक सामान किन्नु पुग्ला त, बिरसराले अाफ्नो पिठ्यूमै टाँसिएको एक भारी दाउरा तिर हेरिन ..... ।
२०६९ असार २०
कन्याम, ईलाम
No comments:
Post a Comment